बिर्तामोड । झापाको मेचीनगर–६ काँकरभिट्टा स्थित भन्सार क्षेत्रमा सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले ठूलो परिमाणको अवैध सामानसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

हिजो साँझ सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्म काँकरभिट्टा  र मेची भन्सार कार्यालयको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको सिटी सफारीमा सवार भारत पश्चिम बंगाल, कोलकत्ता निवासी ३९ वर्षीय परम पाठकलाई शंकाको आधारमा जाँच गरेको थियो।

जाँचका क्रममा उनको साथबाट ५७० ग्राम २४ क्यारेट सुन, २० हजार अमेरिकी डलर, ८५ हजार ५१० भारतीय रुपैयाँ, दुई थान मोबाइल, हार्ड डिस्क, बैंक चेक, सात थान सिम कार्ड, भिसा कार्ड लगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद गरिएका सामान र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि  मेची भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।