बिर्तामोड । बिर्तामोड नगरपालिकाले अव्यवस्थित रूपमा सञ्चालन हुँदै आएको फुटपाथ व्यवसाय हटाउने क्रममा आज तनावपूर्ण अवस्था सिर्जना भएको छ।

बिर्तामोड–५ स्थित बीएन्डसी अस्पताल नजिकको क्षेत्रमा फुटपाथ हटाउन पुगेको नगर प्रहरीको टोलीलाई केही व्यवसायीले खुकुरीसहित प्रतिरोध गरेका हुन्।

फुटपाथ व्यवसायी हसिना खातुन नेतृत्वको समूहले विकल्प नदिई व्यवसाय हटाउन नपाइने माग राख्दै विरोध प्रदर्शन गरेको थियो। विरोधका क्रममा केही व्यक्तिले हातमा खुकुरी लिएर नगर प्रहरीतर्फ आक्रामक व्यवहार देखाएको र प्रहारको प्रयाससमेत गरेको नगरपालिकाले जनाएको छ।

यद्यपि नगर प्रहरीले संयमता अपनाउँदै स्थिति नियन्त्रणमा लिएको थियो।

नगरपालिकाले सडक तथा फुटपाथ सार्वजनिक सम्पत्ति भएकाले त्यहाँ अव्यवस्थित व्यापार गर्न नपाइने स्पष्ट पारेको छ। व्यवसायीहरूलाई वैकल्पिक तथा व्यवस्थित रूपमा व्यापार सञ्चालन गर्न आग्रह गरिएको नगरपालिकाको भनाइ छ।

विरोधका बाबजुद नगर प्रहरीले फुटपाथमा राखिएका सामग्री हटाउनुका साथै केही सामान नियन्त्रणमा लिएको जनाएको छ।

नगर प्रहरीका अनुसार पटक–पटक सम्झाउँदा समेत अटेर गरी सार्वजनिक स्थान अतिक्रमण गर्ने र सुरक्षाकर्मीमाथि आक्रामक व्यवहार गर्ने कार्य स्वीकार्य नहुने भएकाले कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ।

नगरपालिकाले आगामी दिनमा पनि सो क्षेत्रमा पुनः फुटपाथ व्यापार सञ्चालन गरेको पाइए कडा कारबाही गरिने चेतावनी दिएको छ।

यस घटनापछि बिर्तामोडमा फुटपाथ व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ भने व्यवसायी र नगरपालिकाबीचको विवाद थप चर्किने संकेत देखिएको छ।