झापा । दमक नगरपालिका–१० स्थित रतुवा खोलाको पुलमुनि मृत अवस्थामा फेला परेकी २१ वर्षीया रोमा (स्मा) तिवारीको हत्या प्रकरणको सफल अनुसन्धान तथा अभियुक्त पक्राउमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पाँच जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन्।
नेपाल प्रहरीको निर्णयअनुसार घटनाको सूक्ष्म अनुसन्धान गरी अभियुक्तको पहिचान तथा पक्राउमा उल्लेखनीय योगदान पुर्याएका प्रहरी कर्मचारीलाई नगद पुरस्कार प्रदान गरिएको हो।
पुरस्कृत हुनेमा इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक हरी बहादुर बस्नेत, प्रहरी निरीक्षक विपन विश्वकर्मा, जिल्ला समन्वय प्रहरी कार्यालय सुनसरीका प्रहरी हवल्दार ज्ञान बहादुर बस्नेत, प्रहरी चौकी देउरी सुनसरीका प्रहरी सहायक हवल्दार बिरेन्द्र तामाङ तथा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी जवान सविन मगर रहेका छन्।
उनीहरूलाई क्रमशः रु. १,५००, रु. १,४००, रु. १,०००, रु. ९०० र रु. ८०० नगद पुरस्कार प्रदान गरिएको पत्रमा उल्लेख छ।
प्रहरी प्रधान कार्यालयले उक्त घटनाको अनुसन्धानमा देखाएको व्यावसायिकता, लगनशीलता र कार्यकुशलताको उच्च मूल्याङ्कन गर्दै पुरस्कार प्रदान गरेको जनाएको छ।

















