बिर्तामोड । पुरानो रिसिइबीका कारण एक युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दलेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार हिजो  साँझ बिर्तामोड नगरपालिका–२ चारपाने निवासी २१ वर्षीया सबिना राजवंशीलाई केही स्थानीय व्यक्तिहरूले बिजुलीको पोलमा हात बाँधी कालो मोसो दलेका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक नम्भु कुमार माझीको कमाण्डमा टोली खटिएको थियो। घटनास्थलबाट कालो मोबिल रहेको बट्टा तथा पम्प्लेट १६ थान बरामद गरी प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

यस घटनामा संलग्न रहेको आरोपमा कन्काई नगरपालिका–८ निवासी समिर मुर्मु (१८), सबिना मुर्मु (२०), स्वस्तिका मुर्मु (२५) र पूजा बस्नेत (१९) लाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

घटनामा पीडित सबिना राजवंशीको बिर्तासिटी अस्पताल, बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको कारण र संलग्नहरूको भूमिकाबारे थप अनुसन्धान अघि बढाएको छ।