बिर्तामोड । झापाको भद्रपुरमा होटलमा प्रवेश गरी धारिलो हतियार देखाउँदै गुण्डागर्दी गरेको आरोपमा दुईजना सरकारी कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।

IMG-20260613-WA0012 (2)

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जेठ २८ गते राति करिब ९ बजे भद्रपुर नगरपालिका–८ स्थित उडल्याण्ड होटलमा केही व्यक्तिहरूले खुकुरी र कत्ति जस्ता धारिलो हतियार देखाई आतंक मच्चाएको सूचना प्राप्त भएपछि प्रहरी परिचालन गरिएको थियो। प्रहरी पुग्नुअघि उनीहरू फरार भएका थिए।

घटनापछि खोजतलास तीव्र पारिएकोमा जेठ २९ गते दिउँसो करिब २ बजे भद्रपुर–१० स्थित जिल्ला निर्वाचन कार्यालय अगाडिबाट दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका–१० का ३६ वर्षीय कबिराज गुरागाईं र बिर्तामोड नगरपालिका–७ का ३० वर्षीय पराजय चौधरी रहेका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा दुवै जना जिल्ला निर्वाचन कार्यालय झापाका कर्मचारी रहेको खुलेको प्रहरीले जनाएको छ।

घटनामा प्रयोग गरिएको धारिलो हतियार समेत बरामद भएको छ भने पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।