बिर्तामोड । झापा प्रहरीले स्विप अपरेसन सञ्चालन गरी लागुऔषध सेवनकर्ता तथा कारोबारी गरी ४५ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय झापा, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टा तथा मातहत कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले झापाका विभिन्न स्थानमा स्विप अपरेसन सञ्चालन गरेको थियो। उक्त अभियानका क्रममा ३९ जना लागुऔषध सेवनकर्ता र ६ जना कारोबारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले खैरो हेरोइनजस्तो देखिने पदार्थ, ट्रामाडोल क्याप्सुल, स्पास्मिड ट्याब्लेट, नगद रकम, मोबाइल फोन तथा अन्य सामग्री समेत बरामद गरेको छ। नियन्त्रणमा परेकामध्ये केही व्यक्तिबाट खैरो हेरोइनजस्तो पदार्थ प्लास्टिकसहित बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका लागुऔषध सेवनकर्तालाई मनोसामाजिक सेवा प्रदान गरी आवश्यकताअनुसार अभिभावकको जिम्मा लगाउने तथा पुनर्स्थापना केन्द्रमा पठाउने प्रक्रिया अघि बढाइएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।