झापा । झापाको कन्काई नगरपालिकामा एक महिलाको सुनको मुन्द्रा खोलेर लुट्ने प्रयास गरेको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार जेठ ३० गते साँझ करिब ७:४५ बजे जिल्ला पाँचथर फिदिम नगरपालिका–४ घर भई हाल कन्काई–४ कोटीहोम बस्दै आएका अन्दाजी २२ वर्षीय जीवन तामाङले कन्काई–३ टप्पुचोक निवासी अन्दाजी ५० वर्षीया बिमला लिम्बु भुजेललाई घर पुर्याइदिने भन्दै मोटरसाइकलमा राखी लगेका थिए।
कन्काई–१ र २ को सिमानास्थित बाघे खोलाको पुलमा पुगेपछि तामाङले महिलाको कानमा रहेको सुनको मुन्द्रा निकाल्ने प्रयास गरेको भन्ने सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो।
घटनामा स्थानीयले कुटपिट गर्दा घाइते भएका तामाङलाई तत्काल कन्काई नगर अस्पताल सुरुङ्गामा उपचारका लागि लगिएको थियो। प्रहरीले उनको साथबाट सुनको मुन्द्रा २ थान, ओपो मोबाइल १ थान, नगद ३ हजार रुपैयाँ तथा प्रयोग गरिएको मोटरसाइकल बरामद गरेको जनाएको छ।
घाइते तामाङलाई थप उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा उपचारपछि डिस्चार्ज गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनी ल्याइएको प्रहरीले जनाएको छ।




















