बिर्तामोड । झापामा प्रहरीले लागुऔषध नियन्त्रण अभियान अन्तर्गत दुई फरक स्थानबाट प्रतिबन्धित लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–९ घोडामारामा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले चितवन भरतपुर महानगरपालिका–१४ निवासी २४ वर्षीया सोनी खाती र मेचीनगर नगरपालिका–६ काकडभिट्टा निवासी ६० वर्षीया सिता राजवंशीलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट १०.७७ ग्राम खैरो हेरोइन, एक थान आईफोन र एक थान भिभो मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ। दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको स्विप अपरेशन टोलीले कन्काई नगरपालिका–५ तुल्सीबारी क्षेत्रमा शंकास्पद अवस्थामा रहेका कन्काई–९ घैलाडुब्बाका २६ वर्षीय पवनकुमार चौधरीलाई चेकजाँच गर्दा उनको साथबाट १७० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले जिल्लामा लागुऔषध नियन्त्रणका लागि निगरानी र कारबाहीलाई अझ सशक्त बनाइएको जनाएको छ।


















