बिर्तामाेड । देशभरका पुरुष हेयरस्टाइलिस्टहरुको प्रतिभा, सिर्जनशीलता र व्यावसायिक सीपलाई राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने उद्देश्यले “मेन्स हेयर ग्रुमिङ कम्पिटिसन – सिजन १” आयोजना हुने भएको छ। प्रतियोगिता एसटी युनिसेक्स सेलुन एण्ड ट्रेनिङ सेन्टर र राजश्री सप्लायर्स को संयुक्त आयोजनामा सञ्चालन हुन लागेको हो।
आयोजकका अनुसार प्रतियोगिता शैली, प्रतिष्ठा र उत्कृष्टतालाई मूल मन्त्र बनाएर सञ्चालन गरिनेछ। प्रतियोगिताले युवा तथा पेशागत हेयर ग्रुमिङ कलाकारहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने राष्ट्रिय मञ्च प्रदान गर्नुका साथै सामाजिक सञ्जालमार्फत व्यापक दर्शक र प्रशंसकमाझ पुग्ने अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ।
प्रतियोगिता तीन चरणमा सञ्चालन हुनेछ। पहिलो चरणअन्तर्गत असार १ देखि १२ गतेसम्म दर्ता तथा अडिसन राउण्ड हुनेछ। सहभागीले ५०० रुपैयाँ दर्ता शुल्क तिरेर गुगल फाराममार्फत हेयरकटिङ भिडियो बुझाउनुपर्नेछ। यस चरणबाट उत्कृष्ट ६० जनालाई छनोट गरेर घोषणा गरिनेछ।
दोस्रो चरण डिजिटल प्रतियोगिताका रूपमा सञ्चालन हुनेछ। असार १५ गतेसम्म भिडियो बुझाउनुपर्नेछ भने असार २० गते सामाजिक सञ्जालमा अपलोड गरिनेछ। निर्णायकको मूल्याङ्कन, सामाजिक सञ्जालको सहभागिता, सिर्जनशीलता, प्रविधि तथा प्रस्तुतीकरणका आधारमा मूल्याङ्कन गरिने आयोजकले जनाएको छ। यस चरणबाट उत्कृष्ट २० प्रतियोगी चयन गरी असार २७ गते घोषणा गरिनेछ।
तेस्रो चरण अर्थात् टप–२० डिजिटल राउण्डमा सहभागीले नयाँ हेयरकटिङ तथा ग्रुमिङ भिडियो असार २१ गतेसम्म बुझाउनुपर्नेछ। यस राउण्डमा उत्कृष्ट १० प्रतियोगी फाइनलका लागि छनोट हुनेछन् भने बाहिरिएका १० जनाले “बेस्ट कलर क्रिएटिभिटी अवार्ड” मा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्नेछन्।
ग्राण्ड फिनाले श्रावण १६ गते आयोजना हुनेछ। टप–१० प्रतियोगीले प्रत्यक्ष कार्यक्रममा ४५ मिनेटको लाइभ ग्रुमिङ च्यालेन्जमा प्रतिस्पर्धा गर्नेछन्। प्राविधिक सीप, सिर्जनशीलता, सूक्ष्मता, फिनिसिङ, व्यावसायिकता तथा प्रस्तुतीकरणका आधारमा विजेता छनोट गरिनेछ।
प्रतियोगिताले नेपाली हेयरड्रेसरहरूका लागि राष्ट्रिय स्तरको सशक्त प्लेटफर्म, अनुभवी विज्ञहरूसँग सिक्ने अवसर, व्यवसायिक नेटवर्क विस्तार तथा आफ्नो नाम, ब्राण्ड र सेलुनको प्रचार–प्रसार गर्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ।
प्रतियोगितामा सहभागि उत्कृष्ट १० जनालाई गिफ्ट ह्याम्पर तथा प्रथमलाई ५० हजार, दाेस्राेलाई २५ हजार र तेस्राेलाई १५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
















