बिर्तामोड । झापा प्रहरीले नवजात शिशुको हत्या तथा हाडनाता करणी सम्बन्धी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गत माघ २ गते झापाको नवजात शिशुको शव गाडिएको अवस्थामा फेला परेको घटनाको अनुसन्धानका क्रममा पीडित महिलाले आफ्नै बाबुबाट जबरजस्ती करणी भई बच्चा जन्मिएको र बाबुको सल्लाहमा शव गाडिएको प्रारम्भिक बयान दिएकी थिइन्।

उक्त घटनापछि नवजात शिशु कर्तव्य ज्यान तथा हाडनाता करणी सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको थियो। घटनाका मुख्य प्रतिवादी फरार रहेकामा प्राविधिक अनुसन्धान तथा विशेष सूचनाका आधारमा प्रहरीले उनको खोजतलास सुरु गरेको थियो ।

रोल्पा जिल्लामा काम आएका उनलाई पक्राउ गर्न रोल्पा प्रहरीसँग पनि समन्वय गरिएको थियो । प्रहरीले पक्राउ गर्ने बुझेका उनी इलामको सुर्योदय नगरपालिकामा रहेको मन्त्र होटलमा लुकिछिपी बस्दै आएका थिए । 

प्रहरीले फिक्कल बजारस्थित त्यो होटलबाट छोरीसहित उनलाई पक्राउ  गरेको जनाएको छ । 

प्रहरीले प्रतिवादीलाई पक्राउ गरी थप अनुसन्धानका लागि झापा ल्याएको जनाएको छ। घटनासँग सम्बन्धित पीडित महिलालाई आफन्त नेपालको सेफ हाउसमा राखिएको र मुद्दाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।