बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–५ स्थित हनुमान कम्प्लेक्स क्षेत्रमा १८ वर्षीया युवतीमाथि जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार हिजो राति करिब ९ बजे घटना भएको भन्दै पीडितले राति ११ बजे इलाका प्रहरी कार्यालय अनारमनीमा मौखिक जानकारी गराएकी थिइन्। त्यसपछि पीडितलाई स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो।
आज बिहान ३ बजे पीडितलाई बिर्तामोड–५ स्थित क्षितिज महिला समाज पुनर्स्थापना केन्द्रमा राखिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा इलामको पशुपतिनगर नगरपालिका–२ घर भई हाल झापाको बिर्तामोड–५ सुब्बाचोकमा दिदी–भिनाजुको घरमा बस्दै आएका ३६ वर्षीय बिगेन्द्र शेर्पालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।
घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान गरिरहेको जनाएको छ।














