बिर्तामोड । झापाको मेचीनगर–१० स्थित लक्ष्मी कोल्ड स्टोर पछाडिको एक कोठामा जुवा (तास) खेलिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो साँझ करिब ७ बजे प्राप्त गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक दुर्गा बहादुर भट्टराईको नेतृत्वमा खटिएको टोलीले छापा मारेर जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा मेचीनगर–१० हिमालय टोलका ३५ वर्षीय पंच नारायण राजवंशी, मेचीनगर–११ धाईजनका ५० वर्षीय तेजराज प्रसाई, मेचीनगर–१० स्थित लक्ष्मी कोल्ड स्टोरका सञ्चालक ४२ वर्षीय रामपत राजवंशी तथा –२ का ५६ वर्षीय कालुमान लिम्बु रहेका छन्।
प्रहरीले घटनास्थलबाट ११ बुक तास, नगद रु. १ लाख ५२ हजार ४५० तथा दुई थान सामसुङ र एक थान भिभो मोबाइल बरामद गरेको जनाएको छ।
पक्राउ परेका चारै जना तथा बरामद सामानलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ।
















