बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न मुद्दामा अदालतबाट सजाय तथा जरिवाना तोकिएपछि फरार रहेका पाँच जना प्रतिवादीलाई पक्राउ गरेको छ।
मंगलबार दिउँसो जिल्ला प्रहरीको फैसला कार्यान्वयन टोलीले उनीहरूलाई आफ्नै घरबाट पक्राउ गरी सम्बन्धित अदालतमा उपस्थित गराएको थियो।
पक्राउ परेकामध्ये झापा गाउँपालिका–४ का ४७ वर्षीय अव्दुल हकिम मिया (सवारी ज्यान) र मेचीनगर–३ का २६ वर्षीय अनिल दनुवार (लागुऔषध) ले अदालतले तोकेको जरिवाना बुझाएर र कानुनी प्रक्रिया पूरा गरी छुटेका छन्।
यस्तै, कमल गाउँपालिका–५ का २३ वर्षीय मनिष मगर (लागुऔषध) लाई ९ महिना २० दिन कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको छ।
इलाम जिल्ला अदालतको फैसला कार्यान्वयन अन्तर्गत इलाम चुलाचुली गाउँपालिका–५ का ३० वर्षीय लक्ष्मण फागोलाई सवारी ज्यान मुद्दामा तोकिएको १ वर्ष ११ महिना ३ दिन कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, कन्काई नगरपालिका–४ का २९ वर्षीय नबिन रसाइलीलाई लागुऔषध मुद्दामा पक्राउ गरी अदालतमा उपस्थित गराइएपछि कानुनी प्रक्रिया पूरा गरी छुटाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

















