झापा । झापा प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।

हिजो साँझ झापा गाउँपालिका–४ चौधरीटोलमा प्रहरी चौकी टाघनडुब्बा र लागुऔषध नियन्त्रण ब्युरो काकँडभिट्टाको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दमक नगरपालिका–८ निवासी ३७ वर्षीय चन्द्रबहादुर तामाङ र भारतको बिहार राज्य, किशनगञ्ज जिल्ला कुतुवाभिट्टा निवासी १९ वर्षीय अब्दुल रहमानलाई शंकाका आधारमा जाँच गरेको थियो।

जाँचका क्रममा उनीहरूको साथबाट कालो प्लास्टिकमा लुकाई ल्याइएको २५ ग्राम १९ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ। दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ।

यस्तै, कमल गाउँपालिका–४ स्थित एक मोटरसाइकल वर्कसपमा काम गर्ने गौरादह नगरपालिका–१ निवासी ३० वर्षीय विक्रम बस्नेतलाई प्रहरी चौकी केर्खाबाट खटिएको टोलीले पक्राउ गरेको छ।

उनको साथबाट लागुऔषधका रूपमा प्रयोग हुने ट्रमाडोलका २ पत्ता (२० क्याप्सुल) बरामद भएको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ।