अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका–८ सब्जीलाइन क्षेत्रबाट प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।

शनिबार दिउँसो करिब ३ बजे लागूऔषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र प्रहरी चौकी शनिश्चरेबाट खटिएको संयुक्त टोलीले बिर्तामोडबाट शनिश्चरेतर्फ जाँदै गरेको बा ५७ प ७७३३ नम्बरको मोटरसाइकल रोकेर जाँच गरेको थियो।

जाँचका क्रममा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–८ निवासी ४१ वर्षीय सरोज गहतराजको साथबाट एन१० लेखिएको खोलबिनाको सेतो ट्याब्लेट ३० थान तथा ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। उक्त पदार्थको तौल प्लास्टिकसहित ३३ ग्राम १०० मिलिग्राम र प्लास्टिकबाहेक २३ ग्राम ५५० मिलिग्राम रहेको छ।

प्रहरीले घटनास्थलबाट दुई थान मोबाइल फोनसमेत बरामद गरेको छ। पक्राउ परेका गहतराज तथा बरामद लागूऔषध नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।