बिर्तामाेड । ताप्लेजुङबाट झापामा जिल्लान्तर सरुवा भएर आएकी स्थायी प्राथमिक तहकी शिक्षिका कमला मगरको सरुवा प्रक्रिया अन्तिम चरणमा पुगे पनि शिक्षा विकास तथा समन्वय इकाई झापाले निवेदन दर्ता गर्न अस्वीकार गरेपछि विवाद उत्पन्न भएको छ।

इलामको देउमाई नगरपालिका–३ निवासी मगर ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित पृथ्वी माध्यमिक विद्यालयमा कार्यरत थिइन्। उनी अर्जुनधारा नगरपालिका–८ स्थित चन्द्रोदय आधारभूत विद्यालयमा पदस्थापन हुने गरी जिल्लान्तर सरुवा प्रक्रियामा सहभागी भएकी हुन्।

सरुवा प्रक्रियाअनुसार चन्द्रोदय आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिले असार १७ गते सरुवाका लागि सहमति दिएको थियो। त्यसपछि पृथ्वी माध्यमिक विद्यालयले असार १८ गते सरुवा सहमति गर्ने निर्णय गरेको थियो। असार १९ गते मेरिङदेन गाउँपालिका र ताप्लेजुङस्थित शिक्षा विकास तथा समन्वय इकाईले समेत जिल्लान्तर सरुवामा सहमति जनाएपछि मगर सरुवा पत्र लिएर झापा आएकी थिइन्।

त्यसपछि असार २२ गते चन्द्रोदय आधारभूत विद्यालयले शिक्षा विकास तथा समन्वय इकाई झापामा जिल्लान्तर सरुवा सहमतिका लागि सिफारिस गर्‍यो। सोही दिन अर्जुनधारा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले पनि आवश्यक सिफारिस पठाएको थियो।

तर शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख कुमार बस्नेतले नयाँ व्यवस्था लागू भइसकेको भन्दै निवेदन दर्ता गर्न अस्वीकार गरेको आरोप लागेको छ। बस्नेतले शिक्षा नियमावली, २०५९ को दशौं संशोधनअनुसारको प्रक्रिया पूरा नभएको उल्लेख गर्दै फाइल अघि नबढाएको बताइएको छ।

यद्यपि सम्बन्धित पक्षको दाबीअनुसार शिक्षा नियमावली, २०५९ को दशौं संशोधन हालसम्म नेपाल राजपत्रमा प्रकाशित भएको छैन। राजपत्रमै प्रकाशित नभएको व्यवस्था कार्यान्वयनको आधार बनाइएको भन्दै सरोकारवालाले प्रश्न उठाएका छन्।

यस विषयमा शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख कुमार बस्नेतले नियमावली स्वीकृत भएका कारण सरुवा  प्रक्रिया फाइनल गर्न नसकेकाे प्रतिक्रिया दिए । उनले राजपत्रमा प्रकाशित नभएपनि असार १८ गते यताका सबै सरुवा स्थगित गरेकाे बताए । 

एकजना शिक्षक उमेर हदका कारण अनिवार्य अवकासमा गएका कारण दुईसातादेखि दुईसातादेखि साे बिद्यालयमा पठन-पाठन राेकिएकाे छ । हुँदै नभएकाे नियम अघि सारेर बस्नेतले सरुवा स्थगित गरेपछि अंग्रेजी माध्यममा अध्ययन गराउने बिद्यालयकाे याेजना प्रभावित हुने देखिएकाे छ ।  

शिक्षक सरुवामा आर्थिक चलखेल हुने गरेकाे आराेप लागिरहेकाे समयमा प्रमुख बस्नेतले केही स्वार्थ समुहकाे अनुराेधमा सरुवा बदर गरेकाे बताइएकाे छ । झापाकै शिक्षक नेताकाे दवावमा बस्नेतले सम्पूर्ण प्रक्रिया पूरा गरेपनि अन्तिम समयमा सरुवा स्थगित गरेका हुन् ।