झापा । बिर्तामोड नगरपालिका–४ कञ्चनजंघा टोलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाको संयुक्त टोलीले शुक्रबार राति करिब ८ बजे छापा मारेर भारतको किशनगञ्ज, ठाकुरगञ्ज वडा नं. ७ घर भई बिर्तामोड–४ मा डेरा गरी बस्ने २६ वर्षीय अल्ताप अन्सारी र बिर्तामोड–५ का २४ वर्षीय सुरज चौधरीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार सर्मिला गुरुङको घरमा डेरा गरी बसेका उनीहरूले लागूऔषध बिक्री–वितरण गरिरहेको भन्ने सूचनापछि कोठा खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ बरामद भएको थियो।

डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित ५ ग्राम ३०० मिलिग्राम तथा प्लास्टिकबाहेक ४ ग्राम २४० मिलिग्राम पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।