झापा । खोटाङ प्रहरीले भरुवा बन्दुक, बारुद र फलामका टुक्रासहित दुई जनालाई पक्राउ गरेको छ।

शनिबार दिउँसो करिब २ बजे खोटाङको साकेला गाउँपालिका–१ सेखुवाका २८ वर्षीय उर्गेन राई र २४ वर्षीय दिपेन राईले घरमा भरुवा बन्दुक लुकाएर राखेको भन्ने सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट निर्मलीडाँडाबाट प्रहरी निरीक्षक खगेन्द्र चौधरीको कमाण्डमा खटिएको टोलीले खोजतलास गरेको थियो।

खोजतलासका क्रममा उर्गेन राईको घरदेखि करिब ३० मिटर तल झारीमा लुकाइराखिएको भरुवा बन्दुक, बारुद र फलामका टुक्रा फेला परेको प्रहरीले जनाएको छ।

दुवै जनालाई नियन्त्रणमा लिएपछि जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक निराजन बस्नेतको नेतृत्वमा पुगेको टोलीले बरामद सामग्रीसहित उनीहरूलाई जिल्ला प्रहरी कार्यालय ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।