झापा । झापाको मेचीनगर–६ पिङ्की ठ्याकबाट प्रहरीले खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ।

आज दिउँसो करिब २ बजे लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका अर्जुनधारा नगरपालिका–११ शिवालय निवासी २१ वर्षीय विवेक जबेगुलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनको शरीर तलासीका क्रममा प्लास्टिकबाहेक ६ ग्राम ५०० मिलिग्राम तथा प्लास्टिकसहित ७ ग्राम ५९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ बरामद भएको छ।

प्रहरीले जबेगुले चलाएको प्र.१–०१–०१३ प ५२ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ। पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको प्रहरीले जनाएको छ।