बिर्तामोड । झापाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ब्राउन सुगरसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये एक जनालाई अभिभावकको सहमतिमा सुधार केन्द्र पठाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कन्काई नगरपालिका–४ कोटीहोमस्थित बगरटोलमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको टोलीले शंकास्पद अवस्थामा रहेका १८ वर्षीय मिलन गुरुङलाई जाँच गर्दा उनको साथबाट ३८० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो।

नियन्त्रणमा लिएपछि गुरुङलाई इलाका प्रहरी कार्यालय सुरुङ्गामा राखिएको थियो। पछि उनकी आमा अम्बिला राईको सहमतिमा पूर्वाञ्चल सुधार केन्द्रका कर्मचारी अम्बर लिम्बुको जिम्मा लगाई उपचारका लागि सुधार केन्द्र पठाइएको प्रहरीले जनाएको छ।

त्यसैगरी अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित थुम्बेदिन होटल एण्ड लजमा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। चेकजाँचका क्रममा होटलको कोठामा सिरानीमुनि लुकाएर राखिएको १८० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

उक्त घटनामा बिर्तामोड नगरपालिका–५ का १८ वर्षीय इकवाल अन्सारी र बाह्रदशी गाउँपालिका–४ का २५ वर्षीय मनोज राजवंशीलाई पक्राउ गरिएको छ। उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।