बिर्तामोड । भारतीय नागरिकसँग मिलेर सामाजिक सञ्जाल ह्याक गरी रकम ठगी गर्ने गिरोहसँग जोडिएको आरोपमा प्रहरीले तीन महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतीय नागरिक हरप्रित कौर तथा विराटनगर महानगरपालिकाका दिपीका थापा र सम्झना राई रहेका छन्। थापा र राईलाई बिर्तामोड नगरपालिका–२ रामचोक तथा कौरलाई सुरुङ्गाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरी अनुसन्धानका क्रममा उनीहरू गिरोहका लागि बैंक खाता खोल्ने व्यक्ति खोज्ने काममा सक्रिय रहेको खुलेको छ।
गिरोहले आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई प्रभावमा पारेर उनीहरूको नाममा बैंक खाता खोल्ने, मोबाइल बैंकिङ सक्रिय गराउने र सिमकार्डसमेत आफ्नो नियन्त्रणमा लिने गरेको पाइएको छ। खातावालालाई केही रकम दिएर घर पठाउने गरिएको प्रहरीको भनाइ छ।
त्यसपछि गिरोहका आईटी जानकार व्यक्तिले फेसबुक, ह्वाट्सएपलगायत सामाजिक सञ्जाल ह्याक गरी पीडितका आफन्त तथा साथीभाइसँग विभिन्न बहाना बनाएर रकम माग्ने गरेको खुलेको छ। यसरी उठाइएको रकम खातावालाको बैंक खातामा जम्मा गरी गिरोहले निकाल्ने गरेको अनुसन्धानबाट देखिएको छ।
खातावालालाई भने आफ्नो खाता ठगीमा प्रयोग भइरहेको जानकारीसमेत नहुने गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनामाथि अनुसन्धान भइरहेको छ। प्रहरीले गिरोहमा संलग्न आईटी जानकार व्यक्तिको खोजी तीव्र बनाएको जनाएको छ। घटनामा ठूलो र संगठित गिरोह संलग्न रहेको प्रहरीको आशंका छ।




















