मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१० स्थित नन्दा पेट्रोल पम्पमा काम गर्ने मजदुरमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गत भदौ १७ गते मेचीनगर–९ का ४३ वर्षीय धर्मप्रसाद ओलीलाई ४/५ जनाको समूहले सामान्य विषयमा विवाद भएपछि कुटपिट गरी घाइते बनाएको थियो। घटनापछि फरार रहेका व्यक्तिहरूको खोजी गर्ने क्रममा प्रहरीले मोरङको कानेपोखरी गाउँपालिका–७ घर भई हाल मेचीनगर–९ स्थित मुनाल सेक्युरिटीमा कार्यरत २१ वर्षीय आशिष लिम्बूसहित दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरूलाई झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसै क्रममा भदौ ३० गते सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ घर भई हाल मेचीनगर–९ बस्ने पासाङ तेन्जिङ तामाङलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।




















