अर्जुनधारा । अर्जुनधारा–११ स्थित मिलडाँडा युवा परिवारको आयोजनामा हुने प्रथम मिलडाँडा खुला भेट्रान्स नकआउट फुटबल प्रतियोगितामा सहभागी हुने ८ टोलीको टुंगो लागेको छ।
असोज १७ गतेदेखि २४ गतेसम्म प्रगति टोलस्थित देउनिया खेलमैदानमा हुने प्रतियोगितामा ४० वर्षमाथिका खेलाडी सम्मिलित ८ क्लबले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा आयोजक सालबारी मिलडाँडा एफसीसहित सिभिसी भेट्रान्स चन्द्रगढी, ज्ञानेचोक भेट्रान्स क्लब भद्रपुर, चारपाने युनाइटेड भेट्रान्स क्लब बिर्तामोड, मेची भेट्रान्स क्लब मेचीनगर, बौद्ध भेट्रान्स क्लब पाँचथर, बिर्तामोड भेट्रान्स एफसी र झिलझिले भेट्रान्स एफसी शिवसताक्षी सहभागी हुने आयोजक समितिका संयोजक नन्दलाल खतिवडाले जानकारी दिए ।
प्रतियोगिताको विजेताले ५१ हजार १ सय ११ र उपविजेताले ३१ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन्।
यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई २ हजार रुपैयाँ तथा उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर र हाइस्कोररलाई जनही ३ हजार ५ सय रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिनेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ हजार र उत्कृष्ट प्रशिक्षकलाई ३ हजार रुपैयाँ पुरस्कार राखिएको आयोजकले जनाएको छ।
प्रतियोगिता संयोजक नन्दलाल खतिवडाका अनुसार भेट्रान्स खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्नुका साथै स्थानीयस्तरमा भाइचारा र सद्भाव कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगिता सम्पन्न गर्न करिब ७ लाख ६० हजार २ सय २२ रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ।




















