अर्जुनधारा । अर्जुनधारा नगरपालिका–११ स्थित मिलडाँडा युवा परिवारको आयोजनामा प्रथम मिलडाँडा खुला भेट्रान्स नकआउट फुटबल प्रतियोगिता हुने भएको छ।

प्रतियोगिता आगामी असोज १७ गतेदेखि २४ गतेसम्म प्रगति टोलस्थित देउनिया खेलमैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा झापाका बढीमा ८ वटा भेट्रान्स क्लब सहभागी हुनेछन्। ४० वर्षभन्दा माथिका खेलाडीले प्रतियोगितामा सहभागिता जनाउनेछन्।

प्रतियोगिताको विजेताले ५१ हजार १ सय ११ रुपैयाँ तथा उपविजेताले ३१ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई २ हजार रुपैयाँ, फाइनल खेल बेष्ट गाेलकिपर, बेष्ट डिफेन्स, बेष्ट मिडफिल्डर, हाई स्काेररलाई नगद ३५०० र ट्रफि,मेडल, प्रतियाेगिता उत्कृष्ट खेलाडिलाई नगद ५००० र बेष्ट काेचलाई ३ हजार रुपैंयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

खेलकुदको विकाससँगै भेट्रान्स खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्ने, स्थानीयस्तरमा भाइचारा र सद्भाव बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक तथा आयोजक समिति संयोजक नन्दलाल खतिवडाले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न करिब ७ लाख ६० हजार २ सय २२ रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ। पत्रकार सम्मेलनमा अर्जुनधारा नगरपालिका प्रमुख बलदेबसिंह गोम्देन, वडा न ११ का अध्यक्ष खगेेन्द्र  इङनाम, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा  लगायतकाे सहभागिता रहेकाे थियाे ।