विराटनगर । बैंक खातामार्फत भएको शंकास्पद कारोबारको अनुसन्धान गर्दै प्रहरीले विराटनगरका दुई जनालाई पक्राउ गरेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरूको संलग्नतामा १ अर्ब ५७ करोड ६४ लाख ३९ हजार ३ सय ४० रुपैयाँ ८१ पैसा बराबरको रकम हुण्डीमार्फत कारोबार भएको खुलेको छ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ रानीका ५६ वर्षीय शम्भुप्रसाद साह र विराटनगर–१७ का ३५ वर्षीय सुरजप्रसाद साह छन्। दुवैलाई बिहीबार विराटनगरबाटै पक्राउ गरिएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए।

हुण्डी कारोबार भइरहेको विशेष सूचनापछि प्रहरीले केही व्यक्तिको बैंकिङ गतिविधिमाथि निगरानी थालेको थियो। अनुसन्धानका क्रममा व्यक्तिगत तथा विभिन्न फर्मका नाममा रहेका बैंक खाताबाट अस्वाभाविक रूपमा ठूलो रकम जम्मा तथा स्थानान्तरण भएको भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।

प्रहरीका अनुसार रकम कुन स्रोतबाट आएको हो, कहाँ पठाइएको हो र कारोबारमा अन्य व्यक्ति तथा फर्मको भूमिका के थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। कारोबारमा प्रयोग भएका बैंक खाता र रकमको स्रोत तथा गन्तव्यसमेत प्रहरीले खोतलिरहेको छ।

साहद्वयविरुद्ध मुलुकी अपराध संहिता, संगठित अपराध निवारण ऐन तथा सम्पत्ति शुद्धीकरण निवारण ऐन अन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले भने बैंक खातामा ठूलो रकमको कारोबार हुँदैमा मात्र कसुर प्रमाणित नहुने स्पष्ट पारेको छ। रकमको स्रोत, प्रयोजन र कारोबारको वास्तविक कानुनी प्रकृति अनुसन्धानबाट खुलेपछि मात्र कसुर स्थापित हुने प्रहरीले जनाएको छ।

हुण्डी कारोबारको सम्भावित सञ्जाल र यसमा संलग्न अन्य व्यक्तिको खोजीसमेत भइरहेको डीएसपी खड्काले बताए।