बिर्तामाेड । झापा प्रहरीले चाेरी भएका सुनका गहना र नगदसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ घर भई हाल दमक–५ मा डेरा गरेर बस्दै आएका १९ वर्षीय दिपक राई रहेका छन्।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार तामाङको एकतले पक्की घरमा कोही नभएको मौका छोपी दराज फुटाई सुनको सिक्की, बच्चाको चुरा, पिँजडा, तिलहरी र नगद २० हजार रुपैयाँ चोरी भएको थियो।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आसपासका क्षेत्रमा जडान गरिएका सीसीटीभी फुटेजको सहयोगमा अनुसन्धान अघि बढाएको थियो। खोजतलासका क्रममा प्रहरीले दमक–५ स्थित गुम्बा चोकबाट राईलाई नियन्त्रणमा लिएको हो। + पक्राउ परेका राईको साथबाट नगद ७९ हजार रुपैयाँ, चाँदीको पाउजु १ थान, सुनको पिँजडा २ थान र सुनको श्रीबन्दी १ थान बरामद गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।




















