झापा। इलाममा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एउटा फुलबडी ट्रक नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार असोज ६ गते साँझ करिब ६ः३५ बजे इलाम नगरपालिका–९ भञ्ज्याङस्थित मेची राजमार्गमा प्रहरी चौकी गोलाखर्कबाट खटिएको टोलीले ट्रक नियन्त्रणमा लिएको हो।
राजदुवाली सडकको अवस्था बिग्रिएका कारण ठूला सवारीसाधनलाई केचना–कञ्चनजंघा सडकखण्डतर्फ डाइभर्सन गरिएको थियो। सोही क्रममा ना.४ ख ८९९६ नम्बरको फुलबडी ट्रक राजदुवालीतर्फ अगाडि बढेपछि प्रहरीले रोक्न खोजेको थियो। प्रहरीलाई देखेपछि चालकले ट्रक स्टार्टमै छाडेर फरार भएको प्रहरीले जनाएको छ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक देवी दत्त मोतेको कमाण्डमा टोली खटिएको थियो। ट्रकको फल्स बटम बनाई त्रिपालले छोपेको अवस्थामा बोरामा लुकाएर राखिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ।
ट्रकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई तौल गर्दा ४१ बोरामा १ हजार ५ सय ४ केजी ६१० ग्राम गाँजा बरामद भएको छ।
फरार ट्रक चालकको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।




















