बिर्तामोड । लामो समयदेखि बेपत्ता रहेका एक व्यक्तिको खोजीका क्रममा झापामा मानव कंकाल फेला परेपछि प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको विवरणअनुसार ललितपुर जिल्लाको साविक महांकाल गाउँपालिका–१, हाल महांकाल गाउँपालिका–१ का ३९ वर्षीय दिलनाथ बजगाईं २०८१ कात्तिक २९ गतेदेखि सम्पर्कविहीन थिए। नेपाल प्रहरीको हराएका व्यक्तिको अभिलेखमा पनि बजगाईं  मेचीनगर नगरपालिका–१ काँकडभिट्टाबाट हराएको उल्लेख छ।

बजगाईंकी श्रीमती तुलसा बुढा बजगाईंले आफ्नो श्रीमान् हराएको भन्दै खोजतलासका लागि प्रहरीमा निवेदन दिएपछि प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा बजगाईं सँगै हिँडडुल गर्ने ‘राम’ भनेर चिनिने गुप्तबहादुर सिंहको गतिविधिमाथि प्रहरीको अनुसन्धान केन्द्रित भएको थियो। अनुसन्धानका क्रममा प्रहरीले मेचीनगर नगरपालिका–९ स्थित जयप्रसाद तिवारीको जग्गामा रहेको बाँसघारी क्षेत्रमा खोजी गरेको थियो।

त्यस क्रममा प्रहरीले जमिनमुनि मानव आकृतिजस्तो देखिने कंकाल फेला पारेको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ। कंकाल फेला परेपछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको थियो।

कंकाल दिलनाथकै हो कि होइन ?

प्रहरीले फेला पारेको कंकाल दिलनाथ बजगाईंको नै हो वा होइन भन्ने विषय अझै परीक्षणकै क्रममा रहेको जनाएको छ। कंकालको नमुना परीक्षणका लागि केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला पठाउने प्रक्रिया अघि बढाइएको छ।

यसकारण कंकाल फेला परेको आधारमा मात्रै त्यसलाई बजगाईंको शव भनेर प्रहरीले औपचारिक रूपमा पुष्टि गरिसकेको अवस्था छैन। नेपाल प्रहरीको अभिलेखमा भने बजगाईं अझै हराएका व्यक्तिका रूपमा देखिन्छन्। 

दुई जना पक्राउ

घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा म्याग्दी जिल्ला घर भई हाल मेचीनगर नगरपालिका-८ बस्ने ४९ बर्षका राम भन्ने गुप्त बहादुर सिंह, र भारतको आल्पुर जिल्ला बिरपाडा घर भई मेचीनगर नगरपालिका बस्ने संजय लामा रहेका छन् । 

प्रहरीका अनुसार उनीहरूमाथि अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

घटनामा कंकाल फेला परेको स्थान, बेपत्ता व्यक्तिको अन्तिम गतिविधि, पक्राउ परेकाहरूको संलग्नता तथा कंकालको पहिचानलाई जोडेर अनुसन्धान अघि बढाइएको छ। कंकालको वैज्ञानिक परीक्षणबाट पहिचान खुलेपछि घटनाको वास्तविकता थप स्पष्ट हुने प्रहरीको भनाइ छ।

नेपाल प्रहरीको आधिकारिक हराएका व्यक्ति अभिलेखले पनि दिलनाथ बजगाईं झापाको काँकडभिट्टाबाट हराएको विवरण पुष्टि गर्छ।