झापा । नेकपा एमालेका सचिव योगेश भट्टराईलाई इलाममा पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले आक्रमणको प्रयास गरेका छन् ।

काेशी प्रदेशकाे पुन नामाकरण गर्न भन्दै आन्दाेलित पहिचानवादीहरुकाे "प्रदेश १ पुनः नामकरण संघर्ष समिति" का संयोजक डकेन्द्र सिंह थेगिमले भट्टराईलाई इलाममा कालो झण्डा देखाएकाे बताए ।

भट्टराई ७२ औ मदन भण्डारी जन्मजयन्तीको अवसरमा आजको लोकतन्त्र, उपलब्धी र चुनौति विषयक अन्तरसंवादमा भाग लिन इलाम पुगेका थिए । उक्त कार्यक्रममा काँग्रेस नेता गुरुराज घिमिरे र भट्टराईले सम्बोधन गर्ने कार्यक्रम थियो ।

भट्टराईलाई आक्रमण गर्ने प्रयास गरेका पहिचान पक्षधर कार्यकर्तालाई सशस्त्र प्रहरीले राेकेकाे थियो । यद्यपि भट्टराई चढेको गाडीलाई रोक्दै उनीहरुले पहिचान विरोधी होसियार भन्दै कालो झण्डा प्रदर्शन गरेका थिए ।