बिर्तामोड । बढ्दो शहरिकरणसँगै फोहोर व्यवस्थापन मुख्य चुनौतीका रुपमा देखा पर्ने गरेको छ । फोहोर फाल्ने स्थानको अभाव, शहरमा उत्पादित फोहोरका कारण वाताबरणमा पर्ने प्रभाव तथा डम्पिङ साइट आसपासका स्थानीयले बिरोध गर्ने गरेका कारण हरेक शहरले यो समस्याको सामना गर्दै आएका छन् । 

plant

वाताबरणीय दृष्टिकोणले बन जंगल, जल सतह, मानव बस्ती आसपासमा फोहोर फाल्न पाइदैन । यही प्रतिबन्धका कारण शहरको फोहोर ब्यवस्थापन सबैभन्दा ठुलो चुनौतीका रुपमा रहने गरेको छ । अहिले  देशका ठुला शहर काठमाण्डौदेखि झापाको बिर्तामोडसम्मका जनप्रतिनिधिलाई फोहोर ब्यवस्थापन गर्न सकस पर्दै आएको छ । 

fohor

बिर्तामोड नगरपालिकाले जनस्तरमा फोहोर बर्गिकरण शिक्षा प्रदान गरिसकेको जनाएको छ । झापामा सबैभन्दा बढी फोहोर उत्पादन हुने यस नगरपालिकामा फोहोर व्यवस्थापन मुख्य चुनौतीका रुपमा रहेको छ । बर्षाैंदेखि यहाँ फोहोरको समस्या समाधान हुन सकेको छैन ।

शहरमा फोहोर बर्गिकरण गर्न मुख्य चुनौती रहेको बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नि पाण्डे बताउँछन् । शहरमा उत्पादित फोहोर एकैठाउँमा राख्ने गरिएको कारण प्लाण्टमा फोहोर लैजान समस्या भएको उनले बताए । 

फोहोरमैलाको दीगो व्यवस्थापनका लागि निर्माण गरिएको कनकाई बिर्ता अर्जुन नविकरणीय उर्जा पुर्ण क्षमतामा चलाउन नसक्दा ‘करोडौं लगानी बालुवामा पानी’ हुने अवस्था छ । 

२०७५ साल देखि निर्माण शुरु भएको उर्जा प्लान्ट सञ्चालनको सम्पूर्ण तयारी पुरा गरिएको बताइएको छ । प्लान्टको संरचना निर्माणको काम सकिएको छ, सञ्चालक मध्येका दिपक चापागाईले भने–‘फोहोर संकलन गरेर प्लान्टबाट बायोग्यास, ठोस मल र झोल मल उत्पादन गरिन लक्ष्य राखिएको थियो ।’ प्लाण्ट निर्माण सम्पपन्न भएको १ बर्ष बितिसक्दासमेत प्लाण्ट सञ्चालन गर्न चाहिने कुहिने फोहोर संकलन नहुँदा करोडौंको लगानी थन्किएको छ । 

प्लाण्टबाट मल बाहेक निर्माण सामग्री (पेवर्स) बनाइने ‘कनकाई बिर्ता अर्जुन नविकरणीय उर्जा तथा फोहोरमैला व्यवस्थापन’ कम्पनीका प्राविधिक जीवन श्रेष्ठले बताएका थिए । तर, पेवर्स बनाउने उपकरण खरीदका लागि तीन स्थानीय तहबीच हालसम्म समन्वय नै हुन सकेको छैन । कनकाईमना ४ हजार टन क्षमताको प्लान्टबाट हरेक दिन १ हजार केजी ग्यास, ४ हजार केजी ठोस मल र ३० हजार लिटर झोल मल उत्पादन गरिने क्षमताको प्लाण्ट निर्माण भएको छ ।

प्रज्वलन क्षमता, तापीय शक्ति राम्रो भएको बायोग्यास सो प्लान्टबाट उत्पादन गरिने श्रेष्ठको भनाई छ । 

६० प्रतिशत सरकारी लगानी भएको कनकाई नविकरणीय उर्जामा तीनै पालिकाको २ करोड ५४ लाखका दरले लगानी गरेका छन् । कुल २२ करोड लगानी भएको उक्त परियोजना सञ्चालनमा आएपछि फोहोरमैलाको दीगो व्यवस्थापन हुने बताइएको थियो । पहिलो चरणमा जिल्लाका तीन पालिकाले लगानी गरे पनि थप तीन पालिकाहरु लगानीका लागि इच्छुक भएका थिए । तर, सामान्य परीक्षणबाहेक उर्जा प्लाण्टबाट लक्ष्य अनुसारको काम हुन सकेको छैन । 

शिवसताक्षी, मेचीनगर र भद्रपुर समेतले आफ्नो नगरको फोहोरमैला व्यवस्थापनका लागि कनकाई उर्जासँग सहकार्य गर्ने मनासाय बनाएका थिए । कनकाई उर्जा सञ्चालनपछि उत्पादित ग्यास ठुला होटल र उधोगहरुमा निर्यात गरिने योजना सञ्चालकको थियो । 

परियोजनाका प्राविधिक श्रेष्ठले फोहोरको स्रोतमै वर्गीकरण हुन आवश्यक भएको बताएका छन् । स्रोतमा वर्गीकरण गरिएको फोहोर संकलन गरेर प्लान्टमा प्रयोग गरिनेछ । आम नागरिकले कुहिने, नकुहिने र धातुजन्य फोहोर अलग्गै छुट्टाएर दिनुपर्ने श्रेष्ठले बताए । तर, तीनवटै नगरपालिकाले फोहोरलाई बर्गिकरण गरेर छुट्याउने काम नै गर्न सकेका छैनन् । प्लाण्टलाई आवश्यक पर्ने कुहिने फोहोर जम्मा नभएपछि स्थानीय कृषकको गोठबाट गोबर संकलन गरी परीक्षण उत्पादनसम्म गरिएको श्रेष्ठले जानकारी दिए ।  

बिर्तामोड नगरपालिकाकै सक्रियता र तीनवटा नगरपालिकाको सहभागितामा कनकाईमा फोहोर व्यवस्थापनका लागि प्लाण्ट निर्माण भएको हो । प्लाण्ट निर्माण सम्पन्न भएपनि बिर्तामोडले फोहोर बर्गिकरण गर्ने प्रभावकारी उपाय अपनाउन नसक्दा शहरको उत्पादित फोहोर बिसर्जन गर्न चुनौती छ  । 

बिर्तामोड नगरपालिकाले कुहिने फोहोर ढुवानीका लागि गाडी पनि खरीद गरिसकेको छ । तर, नागरिकले फोहोर बर्गिकरण नगर्दा फोहोर संकलन गर्ने काम चुनौतीपुर्ण बनेको छ । 

त्यसैगरी कनकाई नगरपालिकाले फोहोर बर्गिकरणका लागि नगरवासीलाई तालिम दिइसकेको छ । कनकाई नगरपालिकामा उत्पादित फोहोर प्लाण्टमा लान थालिएको छ ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलका अनुसार कुहिने फोहोरबाट बायोग्याँस, ठोस मल र झोल मल उत्पादन हुन थालेको छ । उत्पादित बायोग्याँस बिक्री गर्नका लागि प्रक्रिया शुरु गरिएको उनले बताए । प्लाण्टमा झापाका सबै स्थानीय तहको फोहोर खपत हुने दावी प्रमुख पोखरेलको छ । 

असारदेखि ग्याँस उत्पादन हुन थालेपनि हालसम्म बिक्री भने भएको छैन । ग्याँस बिक्री नभएपछि उत्पादित ग्याँस हावामा नष्ट गर्दै आएको कनकाई नगरपालिकाका सुचना अधिकारी खगेन्द्र मिश्रले जानकारी दिए । उनले ग्याँस बिक्रीका लागि पर्याप्त सिलिण्डर खरीद गरिएको भएपनि हालसम्म उत्पादित ग्याँस खेर गइरहेको बताए । 

त्यस्तै अर्जुनधारा नगरपालिकाले प्लाण्टमा फोहोर व्यवस्थापनका लागि लैजाने बिषयमा कुनै प्रक्रिया शुरु गरेको छैन । प्लाण्ट बनिसकेपछि फोहोर बर्गिकरणका लागि स्थानीयलाई तालिम प्रदान गर्नुपर्नमा यसतर्फ हालसम्म नगरले कुनै चासो राखेको छैन । 

नगरपालिकाको फोहोर व्यवस्थापन शाखाका कर्मचारी माधब भण्डारीका अनुसार हालसम्म फोहोर बर्गिकरणको लागि वडाका नागरिकलाई तालिमसम्म दिइएको छैन । स्थानीय एकजना ब्यवसायीको अर्जुनधारा–४ को बागेडाँगी भन्ने स्थानको जमिनमा फोहोर थुपार्दै आएको नगरपालिकाले अर्काे बर्षपनि फोहोर फ्याल्न सम्झौता गर्ने तयारी गरेको भण्डारीले जानकारी दिए । 

‘अर्जुनधारा नगरपालिकामा फोहोर ब्यवस्थापनको ठुलो समस्या छैन, अरु स्थानीय तहसँग मिलेर अन्यत्र ठुलो लगानी गर्नु उपयुक्त हुन्छ जस्तो लाग्दैन, भण्डारीले भने–‘हाम्रो नगरपालिकामा प्रशस्त जमिन छ, जहाँ पनि डम्पिङ साइट बनाउन सकिन्छ ।’ 

भण्डारीका अनुसार अर्जुनधारामा २० प्रतिशत मात्र कुहिने फोहोर उत्पादन हुँदै आएको छ । कनकाईमा निर्मित प्लाण्टमा कुहिने फोहोर व्यवस्थापन गर्न थाल्दा नकुहिने फोहोरको समस्या झनै बिकराल हुन सक्छ । प्लाष्टिकजन्य फोहोरबाट ब्रिकेट बनाउने प्लाण्ट व्यवस्थापनको योजना रहेपनि यसतर्फ काम शुरु भएको छैन ।  

तिब्र शहरीकरण हुँदै गएको बिर्तामोड नगरपालिकामा फोहोर बिसर्जन गर्ने स्थान अभाव हुँदा हप्तौंसम्म फोहोर नउठ्ने गरेको छ । जसका कारण शहर दुर्गन्धित बन्दै गएको छ । नगरले सक्रियतापुर्वक फोहोर बर्गिकरण गराउने हो भने केही हदसम्म नगरमा फोहोरको समस्या समाधान हुने देखिन्छ । (ब्लाष्टखबरबाट)