झापा । झापाको अर्जुनधारा नगरपालिकाले भूमिहीन तथा अव्यवस्थित बसोबास गर्ने नागरिकलाई धनीपुर्जा वितरणको काम सुरु गरेको छ । पहिलो पटक बुधबारबाट जग्गाको धनीपुर्जा बाँड्न सुरु गरिएको हो । 

अर्जुनधारा नगरपालिकाले सभामुख देवराज घिमिरेको उपस्थितिमा बुधबार ६ जनालाई धनीपुर्जा वितरण गरेको नगर प्रमुख बलदेवसिंह गोम्देनले जानकारी दिए । उनका अनुसार वडा नं ११ का ६ जनालाई पहिलो चरणमा पुर्जा वितरण गरिएको हो । 

यसअघि नगरपालिकाले वडा नं १, ५ र ११ का भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण गरेको थियो । नगर प्रमुख गोम्देनका अनुसार २ हजार १७९ जनालाई निस्सा वितरण गरिएको छ । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सभामुख घिमिरेले नागरिकको मौलिक हक सुनिश्चितताका लागि सबै तहका सरकार जिम्मेवार भएको बताए । उनले नागरिकको मौलिक हक प्रत्याभूत गर्ने सन्दर्भमा आफ्नो तहबाट पनि जिम्मेवार ढंगबाट लागिपर्ने जानकारी दिए । उनले धनीपुर्जा वितरण गर्दा राजश्वकाे दर धेरै भएकाे भन्दै प्रधानमन्त्री प्रचण्ड चीनबाट नेपाल फर्के लगत्तै यसबारेमा निर्णय गर्ने बताए ।  

पुर्वमन्त्री केशबकुमार बुढाथाेकीले भूमि समस्यासँगै झापाकाे अर्जुनधारामा रहेका समस्या समाधानका लागि सभामुखकाे ध्यानाकर्षण गराए । उनले सडक, पुल पुलेसा कामै नलाग्ने भएकाे भन्दै त्यसमा सक्रिय भएर निर्माणमा लाग्न अनुराेध गरेका थिए । 

भूमि आयोग झापाका अध्यक्ष तिलक पाण्डेले राजश्व तिर्ने रकम नभएका कारण धेरै भूमिहिनहरुले धनीपुर्जा पाउनबाट वञ्चित हुनुपर्ने अवस्था रहेकाे बताए । उनले राजश्वकाे दर घटाउन सभामुख मार्फत सरकारकाे ध्यानाकर्षण गराए । 

कार्यक्रममा स्वागत गर्दै नगरका उपप्रमुख खड्गमाया पराजुलीले २०२८ सालदेखि जाेतभाेग गरेकाे आफ्नाे जमिनकाे धनीपुर्जा हालसम्म नपाएकाे बताइन् । उनले राजश्वकाे दर अधिकतम भएकाे भन्दै त्याे घटाउन अनुराेध गरिन् । रकम अभावकै कारण भूमिहिनले धनीपुर्जा नलाने अवस्था रहेकाे पराजुलीले जनाइन् । 





अर्जुनधारा २, ६, ७ र ८ मा निस्सा वितरणको अन्तिम तयारी गरिएको प्रमुख गोम्देनले जानकारी दिएका छन् । नगरमा अव्यवस्थित बसोबासीका रुपमा ७ हजार ६ सय, भूमिहीन दलित २ सय र भूमिहीन सुकुम्बासी १ हजार २ सय जनाले धनीपुर्जा प्राप्तिका लागि आवेदन दिएका छन् । कार्यक्रमको सञ्चालन नगरपालिकाका कर्मचारी सौजन कटुवालले सञ्चालन गरेका थिए ।