झापा । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई शनिबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

received_701036298749820

केन्द्रीय सत्ता गठबन्धन र आफ्नै पार्टी सभापति शेरबहादुर देउवाको निर्णयविरुद्ध विद्रोह गरेका केदार कार्की एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । कार्की डा. शेखर कोइराला समूहका नेता हुन् ।

केन्द्रले कोशीमा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि कार्कीसहित कांग्रेसका ८ सांसदले विद्रोह गरेका थिए ।

असोज २० गते एमालेका हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आफूले विश्वासको मत पाउने आधार नदेखेपछि पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनको आह्वान गरेका थिए ।

संविधानको यो धारामा सांसदहरुलाई पार्टीको ह्वीप लाग्दैन ।

प्रदेश प्रमुखले शुक्रबार ५ बजेसम्मको समय दिएपनि कार्की र आङ्बोले बिहीबार नै आफूलाई ४७–४७ सांसद्को समर्थन रहेको भन्दै दाबी पेस गरेका थिए । आङवाेले ४७ सांसद रहेका दलकाे संसदीय दलका नेताकाे र कार्कीले ४७ सांसद्को हस्ताक्षर प्रदेश प्रमुखकाे कार्यालयमा बुझाएका थिए ।

दुवै जनाले बराबरी सांसद देखाएको भन्दै प्रदेश प्रमुखले शनिबार मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरुको सनाखत गराएका थिए । सनाखतमा कार्कीको पक्षमा ४७ सांसद पुगेपछि प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । आङवाे पक्ष भने हस्ताक्षर दावी गर्न प्रदेश प्रमुखकाे कार्यालयमा गएन ।