बिर्तामोड । नेपाली राजनीति अकरिलो अवस्थाबाट गुज्रिरहेको अहिलेको समयमा राजावादी दल राप्रपाले आज झापामा शक्ति प्रदर्शन गर्ने भएको छ । 

FB_IMG_1700882394554

पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थितिमा राप्रपाले शक्ति प्रदर्शन गर्ने भएको हो । शाहले आज झापाको बिर्तामोड पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा कलेज परिसरमा निर्मित  पृथ्वी नारायण शाहको सालिक अनावरण गर्ने भएका छन्  ।

कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह शुक्रबार नै झापा पुगिसकेका छन् । यो क्रममा राजावादीहरूले शक्ति प्रदर्शन समेत गर्न लागेका छन् । त्यसका लागि राप्रपालगायतका राजावादी शक्तिहरू जुटेका छन् । 

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सोही कार्यक्रमको तयारीका लागि एक डेढ सातादेखि झापामा रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनले पूर्व क्षेत्रबाट परिवर्तनको सन्देश आउने आशा गर्दै कार्यक्रम भव्य हुने दाबी गरे । आयोजकले कार्यक्रममा हजारौँ समर्थकको सहभागिता रहने दाबी गरेको छ । 

आज ८ हजार मोटरसाइकल र्‍याली र कम्तीमा ३० हजार समर्थकलाई उतार्ने राजावादीको दाबी छ ।

कलेज सञ्चालक आलोक कार्कीले भने कलेज परिसरमा राजनीतिक गतिबिधि गर्न नदिने बताएका छन् । यद्यपि उनले सम्पुर्ण राजनीतिक दलहरुलाई कार्यक्रममा निम्ता दिएको बताए ।