बिर्तामोड । झापाको बिर्तामोडस्थित बाल्मिकी एजेकुशन फाउण्डेसन (बाइफा)मा विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । बाइफाले बुधबार एक दिने प्रदर्शनी आयोजना गरेको हो । 

बाइफाले विज्ञान, प्रविधी, इञ्जिनियरिङ, आर्टस र गणित विषयको प्रदर्शनी आयोजना गरेको हो । उक्त बिषयमा आधारित विभिन्न सामाग्रीहरु प्रदर्शनीमा राखिएको फाउण्डेशनका प्रिन्सिपल विष्णु सिंघलले जानकारी दिए । विद्यालयको प्राङ्गणमा आयोजित प्रदर्शनीमा १८० वटा स्टलमा भौतिक, रसायन, जीव, कम्युटर विज्ञान र रोबोटिक्सका सामाग्रीहरु प्रदर्शनीमा राखिएको थियो । ती सामाग्रीहरु विद्यार्थीले निर्माण गरेका विद्यालयले जनाएको छ । होटल मेनेजमेन्टमा अध्ययनरत विद्यार्थीहरुले बनाएका विभिन्न खाद्य परिकारहरुको आठ वटा स्टल रहेको प्रिन्सिपल सिंघलले बताए । 

प्रदर्शनीस्थलमा रहेको प्लानेटोरियममा अभिभावकहरुको आकर्षण देखिन्थ्यो । विद्यार्थीहरुलाई प्रयोगात्मक ज्ञान दिने उद्धेश्यले प्रदर्शनी आयोजना गरिएको सिंघलको भनाई छ । कलेजका विद्यार्थीहरुले प्रशर्दनीमा सहभागीहरुको सुगर तथा रक्त समूह परीक्षणसमेत गरेका थिए । 

विद्यार्थी कलाकारहरुले विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए । लाइभ चित्रकला तथा फेस पेन्टिङसमेत गरिएको थियो । 

नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन बिर्तामोडका अध्यक्ष उत्तम खनालले राबोटले रिबन काटेर प्रदर्शनी स्थलको उद्घाटन गरेका थिए भने बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले दीप प्रज्वलन गरेर कार्यक्रमको औपचारिक उद्घाटन गरेकी थिइन् ।