धुलाबारी । मेचीनगर–९ मा सञ्चालित पारिजात पब्लिक स्कूलले आयोजना गरेको अन्तर सदनात्मक ‘पारिजात फुटसल कप’ को उपाधि पहेँलो सदनले उचालेको छ ।

धुलाबारीस्थित फुटसल मैदानमा मंगलवार भएको फाइनल खेलमा रातो सदनलाई ४ का विरुद्ध ७ गोलले पराजित गर्दै पहेँलो सदन च्याम्पियन बनेको हो । पारिजातले हरेक वर्ष खेलकुद अवार्ड सञ्चालन गर्दै आएको विद्यालयका प्रिन्सिपल विनोद कुमार श्रेष्ठले जानकारी दिए ।

विद्यालयका ४ वटा सदनको ८ वटा टीम बनाएर फुटसल प्रतियोगिता आयोजना गरिएको थियो । टिममा कक्षा ४ देखि ८ कक्षासम्मका विद्यार्थी सामेल थिए । प्रतियोगितामा पहेँलोले निलो सदनलाई र रातोले हरियो सदनलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो । प्रतियोगिता अन्तर्गत अघिल्ला चरणका खेलहरु यसअघि नै खेलाइएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित ढुंगानाको अध्यक्षता तथा मेचीनगर वडा नं ९ का वडाध्यक्ष कञ्चन तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विजेता, उपविजेता तथा विभिन्न विधामा सर्वोत्कृष्ट खेलाडीहरुलाई ट्रफी तथा मेडल वितरण गरिएको थियो ।