अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले किसान सुचिकरण कार्यक्रम सुरु गरेको छ । 

नगरका ५ वटा वडाका किसानलाई  यो चरणमा सुचिकृत गर्ने लक्ष्य रहेको जनाईएको छ । '२, ३, ४, ५ र ६ नम्बर वडाका ८ हजार घरधुरीलाई सुचिकृत गर्ने तयारी छ, नगर कृषि विकास शाखाका कृषि प्राविधिक उर्मिला राजबंशीले भनिन्-'त्यसपछि कृषिमा लगानी गरेर विकास गर्न मदत पुग्दछ ।'
received_1675514876586630

किसान सुचिकरणका लागि ६ जना गणकहरु नियुक्त गरेर अभिमुखिकरण तालिम दिइएको छ । कृषि विकास निर्देशनालयका अधिकृत ट‍ोनी बर्देवाले गणकहरुलाई सहजिकरण गरेका छन् ।  गणकहरुले बालीको प्रकार, उत्पादनको परिणाम, कृषकले काम गर्दै आएको समय,  उत्पादन हुने बालीकाे प्रकार, व्यवसायिक तथा  जिविकामुखी खेती, कृषिमा प्रयाेग गरिएका उपकरणहरु लगायतका बिषयमा तथ्यांक संकलन गर्ने छन् । 

नगरभरीका कृषककाे  डिझिटल रेकर्ड हुने भएका कारण उनीहरुकाे आवश्यकता र चाहना थाहा पाउन सहज हुने निर्देशनालयका अधिकृत तथा प्रशिक्षक एकमणि भट्टराईले जानकारी दिए । उनले कृषिमा आत्मनिर्भर बनाएर समृद्धि हासिल गर्न यस्ताे  निर्देशनालय मातहतकाे कृषि व्यवस्थापन सुचना प्रणाली अन्तर्गत याे कार्यक्रम सुरु गरिएकाे बताए । 

अर्जुनधाराकाे १ र ९ नम्बर वडामा किसान सुचिकरण कार्यक्रम सम्पन्न भइसकेकाे छ । याे आर्थिक बर्षमा ५ वटा वडा र आगामी आर्थिक बर्षमा बाँकी ४ वटा वडामा सुचिकरण कार्यक्रम सञ्चालन गरिने कृषि शाखा प्रमुख एञ्जिला बिडारीले जानकारी दिइन् । किसानले आफै सुचिकरणमा सहभागी हुनका लागि www.farmer.moald.gov.np मा गएर सुचिकरण गर्न सकिने पनि उनले बताइन् ।