बिर्तामोड । ताप्लेजुङमा नो केवलकार पक्षधर र प्रहरीबीचको झडपमा २६ जना घाइते, ४ जनालाई गोली लागेको छ । घाइतेमध्ये ५ जना आन्दोलनकारी र २१ जना सुरक्षाकर्मी छन्।
झडपका क्रममा प्रहरीले हानेको गोली ४ जनालाई लागेको पहिचान पक्षधरको दाबी छ। उनीहरुका अनुसार गोली लागेकामध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । १ जना भने अश्रुग्यास प्रहार गर्दा घाइते भएका हुन्।
पाथीभरा क्षेत्रको काफ्लेपाटीभन्दा करिब १ किलोमिटर माथि पहिचान पक्षधरको ‘नो केबलकार’ समूह तथा प्रहरीबीच शनिबार दिउँसो र साँझ दुईपटक झडप भएको हो।
दिउँसोको झडपमा प्रहरीले अश्रु्ग्यास मात्रै प्रहार गरेको थियो। साँझ स्थिति भड्किन थालेपछि गोली नै चलाउनु परेको प्रहरीले जनाएको छ। दिउँसो ४ बजेतिर झडप हुँदा ३ जना सशस्त्र प्रहरी र आन्दोलनरत पक्षका १ जना घाइते भएका थिए । थप घाइते साँझ ६ बजेतिरको झडपमा भएका हुन्।

















