बिर्तामोड । अध्यक्ष ओली पक्राउ बिरुद्धमा नेकपा एमाले झापाले मशाल जुलुस प्रदर्शन गरेको छ।

आज साँझ ६:३० बजेदेखि बिर्तामोड नगरपालिका–५ स्थित पार्टी कार्यालयबाट सुरु भएको मशाल जुलुस जिल्ला अध्यक्ष प्रेमबहादुर गिरीको नेतृत्वमा निकालिएको थियो। जुलुसमा कोशी प्रदेश सभा सदस्य एकराज कार्की, जिल्ला कमिटी उपसचिव अनिता कन्दङ्वा, राष्ट्रिय युवा संघका जिल्ला इन्चार्ज खगेन्द्रराज आङदम्बेलगायत करिब २०० कार्यकर्ताको सहभागिता रहेको थियो।

पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आयोजित जुलुसका क्रममा सहभागीहरूले विभिन्न राजनीतिक नाराबाजी गरेका थिए।

जुलुस करिब ६:३५ बजे मुक्ति चोक पुगेपछि प्रहरीले मशाल नियन्त्रणमा लिएको थियो। त्यसपछि कार्यक्रम नाराबाजीसहित कोणसभामा परिणत भएको थियो।