बिर्तामोड । चन्द्रगढी महिला गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक चन्द्रगढी युवा क्लबले खेल तालिका सार्वजनिक गरेको हो ।
२०८३ बैशाख ५ गतेदेखि हुने प्रतियोगिताको खेलतालिकाअनुसार उद्घाटन खेलमा पोखराको आरएस पोखरा फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ । त्यस्तै, बैशाख ६ गते भुटानको थिम्पु सिटी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने अध्यक्ष रोहित सुब्बाले बताए ।
बैशाख ७ गते नेपाल पुलिस क्लब र आयोजक चन्द्रगढी युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । बैशाख ८ गते एपिएफ फुटबल क्लबले ओखलढुंगाको पदमा स्पोर्टस् क्लबविरुद्ध खेल्नेछ ।
खेलतालिकाअनुसार बैशाख ९ गते पुलिस र आयोजकबीचको विजेतासँग भारतको रानी लक्ष्मीबाई स्पोर्टस् एकेडेमीले सामना गर्नेछ । बैशाख १० गते एपिएफ र पदमाबीचको विजेताविरुद्ध संकटा फुटबल क्लबले खेल्नेछ ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेल बैशाख १२ गते र दोस्रो सेमिफाइनल खेल बैशाख १३ गते हुनेछ । फाइनल खेल बैशाख १४ गते हुने प्रतियोगिताका सचिवालय प्रमुख हिमाल खरेलले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र ट्रफी पाउनेछ । त्यस्तै, उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ । यो पुरस्कार राशि महिला फुटबलमा नेपालकै सर्वाधिक हो । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद १० हजार रुपैयाँ पाउनेछ ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले नगद २५ हजार रुपैयाँ पाउनेछ ।




















