भद्रपुर । चन्द्रगढी युवा क्लबको आयोजनामा “चन्द्रगढी महिला गोल्डकप २०८३” आगामी वैशाख ५ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने भएको छ। प्रतियोगिता भद्रपुरस्थित मेची रंगशालामा आयोजना गरिने आयोजकले जनाएको छ।
आयोजकले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार महिला फुटबलको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पहिलोपटक अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिता आयोजना गर्न लागिएको हो।
प्रतियोगितामा नेपालका विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफ क्लबका साथै ए डिभिजन क्लब र विदेशी टोलीहरूको सहभागिता रहने जनाइएको छ।
प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकलाई समेत पुरस्कार प्रदान गरिनेछ। प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई पनि नगदसहित सम्मान गरिने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
क्लबका अध्यक्ष रोहित सुब्बाले प्रतियोगितामार्फत झापालाई महिला फुटबलको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको बताए। उनले प्रतियोगिता सफल बनाउन स्थानीय तह, संघसंस्था र निजी क्षेत्रको सहयोग रहने विश्वास व्यक्त गरे।
प्रतियोगिताले महिला खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।




















