बिर्तामोड । झापाको मेचीनगर नगरपालिका–१५ निलकोठीमा सामान्य विवादपछि भएको कुटपिटको घटनामा एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार हिजो राति करिब १० बजे स्थानीय ५५ वर्षीय रुद्र श्रेष्ठ र सोही क्षेत्रमा रहेको माँ पाथीभारा प्लाई फ्याक्ट्रीमा कार्यरत तनहुँ (दमौली) घर बताउने अन्दाजी ३५ वर्षीय रामबहादुर गौतमबीच सामान्य भनाभन तथा विवाद भएको थियो। विवादका क्रममा भएको कुटपिटबाट श्रेष्ठको टाउकोमा गम्भीर चोट लागेको थियो।
घटनाबारे १८ जेठ बिहान ७:२० बजे प्रहरी चौकी ज्यामिरगढीमा सूचना प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक सरोज थापाको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको थियो। घाइते श्रेष्ठलाई उपचारका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा बिहान ८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनामा संलग्न रहेको आरोपमा रामबहादुर गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















