बिर्तामोड । झापाको दमक र अर्जुनधारामा शुक्रबार राति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जना घाइते भएका छन्।
दमक नगरपालिका–५ नारायण गोपाल टोलस्थित भित्री सडकखण्डमा राति चिया बगानबाट दमक बजारतर्फ आउँदै गरेको प्र.१-०१-०१६ प ९१३२ नम्बरको स्कुटी र विपरीत दिशाबाट आउँदै गरेको प्र.१-०१-०१३ प ३९०८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा स्कुटी चालक दमक–९ निवासी जेम्स टप्पोको दुवै खुट्टामा चोट लागेको छ। त्यसैगरी मोटरसाइकल चालक दमक–२ निवासी चन्द्र राईको दुवै हातखुट्टा तथा दाहिने आँखाको वरिपरि चोट लागेको प्रहरीले जनाएको छ। दुवै घाइतेको अवस्था सामान्य रहेको र उपचारका लागि निम्स अस्पताल, दमक पठाइएको छ। दुर्घटनामा संलग्न दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी अर्जुनधारा नगरपालिका–८ पेट्रोल पम्प नजिक शनिश्चरे–बिर्तामोड सडकखण्डमा राति बिर्तामोडबाट शनिश्चरेतर्फ जाँदै गरेको मे ११ प ७८६४ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा–१ निवासी मुकेश आचार्यको ढाडमा दुखाइ भएको छ भने पैदलयात्री अर्जुनधारा–८ निवासी गणेश कार्कीको दाहिने हात र खुट्टामा चोट लागेको छ। दुवै जनाको अवस्था सामान्य रहेको र शनिश्चरेस्थित शंकर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।















