विराटनगर । कोशी प्रदेश सरकारका सम्बन्धमा निर्णय लिन नेपाली कांग्रेस प्रदेशस्तरीय संयन्त्रको बैठक सुरु भएको छ। विराटनगरमा जारी बैठकले नेकपा (एमाले) का नेता हिक्मतकुमार कार्की नेतृत्वको वर्तमान सरकारबाट कांग्रेसका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गर्ने प्रबल सम्भावना छ।

नेपाली कांग्रेस कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बसेको बैठकमा उपनेता हिमाल कार्की, प्रमुख सचेतक गोपाल तामाङ, सहमहामन्त्री उमेश थापा, नेता एवं सांसदहरू अमृत अर्याल, गयानन्द मण्डल, मैयाँ श्रेष्ठलगायतको उपस्थिति रहेको छ।

तर, सरकारमा कांग्रेसको तर्फबाट नेतृत्व गरिरहेका भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार भने बैठकमा अनुपस्थित छन्। उनले आफू संयन्त्रको बैठकमा सहभागी नहुने बताएका छन्। स्रोतका अनुसार कांग्रेसको केन्द्रीय नेतृत्वले दिएको निर्देशन नमान्ने अडानमा केही मन्त्रीहरू रहेका छन्।

हाल कोशी सरकारमा कांग्रेसका तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री सुनुवारसहित स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी र भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङ सहभागी छन्।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै कोशी प्रदेशमा पनि त्यसको असर देखिएको हो। आजको बैठकले मन्त्रीहरूलाई फिर्ता बोलाउने औपचारिक निर्णय गरेमा कोशीको राजनीतिले नयाँ मोड लिने देखिन्छ।