झापा । झापाको दमकमा प्रहरीले चार लाख रुपैयाँ बराबरका अवैध कपडा तथा एउटा अटो बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी सहायक निरीक्षक राजकुमार श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले शुक्रबार दमक नगरपालिका–८ स्थित पूर्व–पश्चिम राजमार्गको दक्षिणतर्फको गल्लीबाटोमा शंकास्पद अवस्थामा रहेको मे १ ह ७४०१ नम्बरको रातो अटो रोकी जाँच गर्न खोज्दा चालक अटो छाडेर फरार भएको प्रहरीले जनाएको छ।
जाँचका क्रममा अटोभित्र अवैध रूपमा लुकाइछिपाइ ल्याइएका विभिन्न कपडा र साडी बरामद भएको प्रहरीले जनाएको छ। बरामद कपडाको अनुमानित मूल्य १ लाख ५० हजार रुपैयाँ रहेको छ भने अटोको मूल्य २ लाख ५० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
बरामद कपडा र अटोको कुल मूल्य ४ लाख रुपैयाँ रहेको छ। बरामद सामान इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ भने फरार चालकको खोजीका साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















