बिर्तामोड । झापाको मेचीनगर र गौरीगञ्जमा प्रहरीले भन्सार छलिका सामान तथा अवैध रूपमा ल्याइएको माछा बरामद गरेको छ।
प्रहरी चौकी चारआलीबाट प्रहरी नायब निरीक्षक किरणकुमार राईको कमाण्डमा खटिएको गस्ती टोलीले बुधबार बिहान ११ बजे मेचीनगर–१३ स्थित फुलबासा पुल नजिक बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएको भन्सार छलिका पानजन्य सामग्री बरामद गरेको हो।
बरामद सामानमा करिब ५० केजी हरियो पानको पत्ता, विभिन्न प्रकारका गुल, पानमा प्रयोग हुने रंगोल, पान मसला, दिलखुस चट्नी तथा केशर तमाखु रहेका छन्। ती सामानको अनुमानित मूल्य ५२ हजार २० रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद सामान आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको छ।
यस्तै, इलाका प्रहरी कार्यालय गौरीगञ्जको टोलीले गौरीगञ्ज गाउँपालिका–३ बुधबारे हटियाबाट भन्सार छलि ल्याई लुकाएर राखिएको करिब २० केजी मुङ्ग्री माछा बरामद गरेको छ। उक्त माछाको अनुमानित मूल्य ६ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
बरामद गरिएको माछा स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी, पशु क्वारेन्टाइन तथा बजार व्यवस्थापन समितिको रोहवरमा खाल्डो खनी नष्ट गरिएको प्रहरीले जानकारी दिएको छ।



















