विर्तामोड । नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीभित्र बृहद एकता कायम गर्ने अभियानकै रुपमा राष्ट्रिय भेला आयोजना गरिएकाे बताएका छन् ।
नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय झापामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले आगामी साउन २९ गतेदेखि ३१ गतेसम्म काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेलामा राष्ट्र, राष्ट्रियता, राष्ट्रिय राजनीति, कुटनीतिक सम्बन्ध, पार्टीभित्रको अन्योल, स्थानीय तह निर्वाचन लगायतका विषयमा नीतिगत छलफल हुने उनले बताए ।
नेपाली कांग्रेसभित्रको विवाद र न्यायिक निरुपणका सन्दर्भमा बोल्दै नेता सिटौलाले विपक्षीलाई सुनुवाईको मौका पनि नदिई निर्वाचन आयोगले गरेको निर्णयलाई सर्वोच्च अदालतले पनि समय नभएको भन्दै तत्कालीन सभापति शेरबहादुर देउवालाई सुनुवाईको अवसर नदिई निर्णय गरेपछि मुद्धा पुनरावलोकनका लागि निवेदन दिइएको उनकाे भनाई थियाे ।
‘प्रतिवादीलाई सुनुवाईको मौका नदिई गरेको निर्णय बदर हुन्छ’–उनल भने–‘निर्वाचन आयोग र सर्वोच्च अदालतले तत्कालीन सभापति शेरबहादुर देउवालाई सुनुवाइको मौका समेत नदिई फैसला गर्नु गलत हो ।’
‘कार्यकर्ता लखेटेर र गलहत्याएर राजनीति हुँदैन’–सिटौलाले भने–‘एकलौटी गर्न खोजे पार्टीभित्र थप दुर्गती निम्तन्छ ।’ भदौ २३ र २४ को आन्दोलनपछि पार्टीलाई थप मजबुद र एकीकृत गर्नुपर्ने आवश्यकता रहेको सन्दर्भमा विशेष महाधिवेशनमार्फत पार्टी कब्जा गर्न खोज्नु वर्तमान नेतृत्वको गलत कदम भएको उनकाे टिप्पणी थियो ।


















