बिर्तामोड । डेरी एशोसिएसन नेपाल कोशी प्रदेशले सरकारले दुधमा गरेको मुल्यबृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । गतबर्षको फागुनमा सरकारले दुधको मुल्यबृद्धि गरेको थियो । 

सो मुल्यबृद्धि मार्फत दुधको बजार तहस–नहस भएको निष्कर्ष एशोसिएसनको छ । अन्तराष्ट्रिय बजारको तुलनामा नेपाली बजारमा दुधको मुल्य उच्च भएपछि दुध र दुधजन्य पदार्थ बिक्री नभएर सड्ने अवस्थामा रहेको एशोसिएसनले जनाएको छ । 

झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै एशोसियसनले मुल्यबृद्धि फिर्ता नलिने हो भने चाडपर्वपछि ८० प्रतिशतले दुधको बजार ठप्प हुने बताएको छ । एसोसिएसनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष राजन चिमरियाले अन्तराष्ट्रिय बजार बिश्लेषण नगरी हचुवाको भरमा दुधको मुल्यबृद्धि गर्दा यतिबेला किसान सबैभन्दा मारमा परेको बताए । 

चिमरियाले कोशी प्रदेशमा ५ लाख केजी नौनी(घिउ) स्टक रहेको बताए । नौनीको पनि उपभोग्य मिति गुज्रने समय आउन लागेको भन्दै चिमरियाले केही डेरी सञ्चालकले नष्ट गर्न थालेको जानकारी दिए । नेपाली बजारमा दुधको अस्वभाविक मुल्य बृद्धि गरिएपछि भारतीय बजारबाट खुल्ला दुध र दुधजन्य पदार्थ नेपाल आउन थालेकाले नेपालमा ‘मिल्क होलिडे’ गर्नुपर्ने अवस्था आएको उनको भनाई छ । 

‘भारतीय कृषकलाई त्यहाँको सरकारले अनुदान बढी दिन्छ, त्यसकारण उनीहरु सस्तो मुल्य राखेर दुध बिक्री गर्न सक्छन्, चिमरियाले भने–‘नेपालमा अनुदान छैन, बढाएको मुल्य चोकर उद्योग, दाना उद्योग र पशु औषधी उद्योगले लगेका छन्, सरकारले त्यसको अनुगमन र नियमन गर्न सकेको छैन ।’

दुधको मुल्य बृद्धिसँगै नेपालमा उत्पादित दुधजन्य सामग्रीको मुल्य १० प्रतिशतले बृद्धि भएको छ । जसका कारण बिदेशी उत्पादनसँग प्रतिष्पर्धा गर्न नसकेको उनले बताए । प्रतिष्पर्धामा सस्तो मुल्यमा अरु देशको उत्पादनले उछिनेपछि नेपाली उत्पादन बिक्री नभएको हो । यसअघि नेपालमा उत्पादित छुर्पी युरोप र अमेरिका, दुध भारत र चीनको तिब्बत तथा घिउ जापान निर्यात हुँदै आएको थियो । 

यतिबेला दुध भारत निर्यात हुँदै गरेको भएपनि पहिलाको तुलनामा थोरै परिणाममा भारतीय बजारबाट माग हुन थालेको हुनाले नेपालमा मिल्क होलिडे गर्नुपर्ने अवस्था आएको ब्यवसायीको भनाई छ । अहिले भारतमा दुधको मुल्य ५६ रुपैयाँ प्रतिलिटर छ भने नेपालमा ६६ रुपैयाँ रहेको उनले बताए । 

एसोसिएसनका महासचिव हेमचन्द्र खनालले यो बर्षभरी यही अवस्था रहेको खण्डमा नेपालका ८० प्रतिशत दुध उत्पादक कृषक पेशाबाट बिस्थापित हुने बताए । उनले मुल्यबृद्धि फिर्ता लिने, यो भन्दा बढी दुध उत्पादनमा रोक लगाउने, उत्पादनको बजारिकरणमा भूमिका खेल्ने लगायतको काम सरकारले तत्काल गर्नुपर्ने बताए । 

एसोसिएसनले दुधजन्य पदार्थको बिक्री नभएपछि आगामी महिनाबाट किसानको रकम भुक्तानी गर्नसमेत नसक्ने अवस्था आउने बताएको छ । हाल नेपालमा दैनिक ७ लाख लिटर दुधको कारोबार हुने गरेको छ भने कोशी प्रदेशमा ३ लाख लिटर कारोबार हुने गरेको छ । 

कार्यक्रममा एसोसिएसनका कोशी अध्यक्ष गंगाबहादुर खड्काले दुधको अस्वभाविक मुल्यबृद्धिले किसान र व्यवसायी पलायन हुने खतरा बढ्दै गएको बताए । उनले दुध खरीद गरेर छुर्पी बनाउँदै गरेकोमा अन्य देशले सस्तोमा उत्पादन गरेको छुर्पीले नेपाली उत्पादनलाई बिस्थापन गर्न थालेको बताए । एसोसिएसनले पटक–पटक राज्यको सम्बन्धित निकायलाई सो बिषयमा ध्यानाकर्षण गराउँदासमेत सुनुवाई नभएको जनाएको छ । राज्यले समस्या समाधान गर्न विकल्पको रुपमा किसानलाई उत्पादन लागत कम गर्ने उपाय खोज्नुपर्नेमा अव्यबहारिक मुल्यबृद्धि गरेर दुधमा आत्मनिर्भर बन्दै गएको नेपालको बजारलाई तहस–नहस बनाउदै लगेको उनीहरुको गुनासो छ ।