शब्दकोषले चेली भनेका अह्राउपराउ गर्ने स्त्री भनेर लेखेको छ । छोरी चेली शब्द राम्राे सुनिए तापनि यस शब्दमाथिको व्यावहारिक राजनीति गतिलो छैन । राष्ट्रिय गौरबको काम गर्ने कोही पनि महिलालाई चेली भनेर समाचार लेख्नेमाथि हामीले आपत्ती जनाएका थियौँ । जनाइरहने छौँ । आमाको नामबाट सन्तानको नागरिकताको कुरा उठ्दा "भान्जाभान्जी" भनेर समग्र महिलामाथि अपमानपूर्वक हमला भएको थियाे । किन कि चेलीका सन्तान भान्जाभान्जी हुन । चेली र भान्जाभान्जीको स्थान भनेको दक्षिणा दिँदा थापेझैँ हात थाप्ने हो अधिकार माग्ने होइन भन्ने पारम्परिक मान्यतालाई राष्ट्रिय अधिकारको सवालमा ल्याइएको थियो ।

त्यसपछि त सार्वजनिक स्थानमा सम्बोधन गरिने चेली शब्दमाथि झनै आपत्ति बढ्यो । पारम्परिक हिसाबले चेलीको स्थानका बारेमा केही भन्छु । जुन घरमा छोरी जन्मिन्छिन त्यहाँको घर, सम्पति, वंश, धर्म, कुल, गोत्र केहिको पनि उत्तराधिकारी छोरी हुन सक्तिनन् । किन कि उसलाई "अर्काको सम्पति" मानिन्छ सार्वभौमिक व्यक्ति मानिँदैन । तर उसका दाजुभाई सार्वभौमिक र माथि उल्लेखित सबै बिषयका उत्तराधिकारी हुन ।

जब बिहे हुन्छ उनी श्रीमती, बुहारी, आमा हुन्छिन त्यहाँ पनि उनी सहयोगी, सेविकाभन्दा माथिको दर्जामा हुन्नन् । कसैकी श्रीमती, बुहारी, आमाको मात्र परिचय हुन्छ । माइतीसँगको सम्बन्ध र व्यावहार झनै उदेक लाग्दो हुन्छ । जस्तैः- दशैँ बाहेकका कुनै पनि कार्यमा निम्ता नदिइ जानसक्ने अबस्था हुँदैन । बाउआमाकै घरमा पनि उनीहरूको "आशे स्थान" हुन्छ । माइतीले मीठो मसिनो दिन्छन भन्ने विश्वस्त आशभन्दा माथिको स्थान हुँदैन ।

 जब कि सँगै जन्मेका दाजु या भाइ मालिकको स्थानमा हुन्छन । तीज, तिहार, बिहे, ब्रतबन्धमा एउटा सारी देलान्, कस्तो देलान् ! खान के देलान् भनेर जीवनभर आश जगाइरहने स्थानमा उभ्याइएको हुन्छ । यहि स्थानलाई चेलीको इज्जत मानिन्छ । अझ अचेल त एकै खालका सारी दिएर उच्चस्तरका आधुनिक आशे निर्माण गरिएको हुन्छ । यसैमा रमाएको पनि देखिन्छ । यो छोरीहरूमाथिको अपमान हो भन्यो भनेँ धेरैले गाली गर्लान् ।

छोरीलाई कसरी अपमान गरिन्छ भनेँ, जब पहिलोपटक मासिक धर्म हुन्छ दाजुभाईलाई त्यस्ता चेलीले हेर्यो भनेँ दाजुभाई मासिन्छन भनिन्थ्यो । सुत्केरी भएको बेलामा दाजुभाईले हेर्यो भनेँ पनि दाजुभाई मासिन्छन भनिन्छ । आपतविपत परेर बाउआमाका घरमा सुत्केरी भएको खण्डमा माइतमा न्वारन गर्न दिँदैनन् । बिहे गरेर गएकी छोरीका घरमा अन्न, फलफूलको त कुरै छोडौँ पानी पनि खादैनन ।

छाेरीले ल्याएको कोसेली खाँदैनन । माइत गएको बेलामा बच्चा बिरामी भए भनेँ अर्काको सिसोबासो भनेर फिर्ता पठाउँछन । बच्चाले चित्त नबुझ्ने केही बोले भनेँ छोरीका छोराछोरी अर्काका भनेका अर्काकै हुन्छन भनेर अर्थ लगाउँछन । यी सबै किन भन्छन भनेँ संस्कारगत रूपमा कमजोर छन भन्न पटकपटक विभिन्न न्यारेशनहरू दोहोर्याइ रहन्छन । धार्मिक रूपमा छोरीका शारीरिक बनोटका आधारमा निच्चो हुन भन्न तयार पारेका न्यारेशनको घोट्टा लगाउँछन । सामाजिक रूपमा पनि आत्माबल छिनाउने गरि लाएको खाएको हिँडेको बोलेको जाँचबुझ गर्दै पटकपटक बोलिन्छ, व्यावहार गरिन्छ ।

कानुनले केही अधिकार दिए पनि त्यसलाई कार्यान्वयन गर्न बाह्रसिङ निकालेर व्याख्या गर्दै टार्न खोजिन्छ । समावेशीको, समता र समानताको कुरा गर्दै गर्दा हामीले बोलिने बोलि र शब्दमा पनि त परिवर्तन ल्याउनु पर्दो हो नि ! समाजका हरेक वर्ग लिंग समुदायलाई सम्मान गर्छु भन्दै गर्दा महिलाहरूले नै हामीलाई सार्वजनिक स्थानमा चेली नभन भन्दै गर्दा त्यसको कारण बुझ्ने कि अहंकार, घमण्ड भनेर व्याख्या गर्ने !