बिर्तामोड । बुद्वशान्तिमा बैशाख १५ गतेदेखि हुने तेस्रो आदर्श च्यालेञ्ज कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । 

received_795209729190844

आदर्श युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपाल र भारतका आठ वटा टिमको सहभागिता रहने आयोजकले मंगलबार  पत्रकार सम्मेलन गरेर जनाएको छ । 

प्रतियोगिताका  लागि खेल मैदान सम्याउने काम भईसकेको छ । दर्शकको सुविधाका  लागि अस्थायी प्यारापिट निर्माण गर्ने काम भएको छ । मैदान मर्मत गर्ने काम अन्तिम अवस्थामा पुगेको छ । 

२०७० सालमा सुरु भएको प्रतियोगिताको २०७१ सालमा दोस्रो संस्करण भएको थियो। दोस्रो संस्करणपछि स्थगित प्रतियोगिता यो बर्ष तेस्रो पटक प्रतियोगिता हुन लागेको हो । 

प्रतियोगितामा आदर्श युवा क्लब बुद्वशान्ति, ध्रुबतारा स्पोर्टिङ क्लब दमक, मानेभञ्ज्याङ एफसी भारत, धरान एफसी, बिर्तामोड युनाइटेड, नर्थ बंगाल एफसी भारत, रेड हर्ष एफसी इलाम र बेलबारी एफसी मोरङको सहभागिता रहने आयोजक आदर्श युवा क्लबका अध्यक्ष मात्रिका श्रेष्ठले जानकारी दिए । 

प्रतियोगिताको बिजेताले नगद २ लाख, उपबिजेताले १ लाख ट्रफी र मेडल पाउने छन । प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले नगद ३ हजार रुपैया पुरस्कार पाउने छन् । फाईनल खेलका उत्कृष्ठ ग‍ोलरक्षक, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र उदियमान खेलाडीले जनही ५ हजार रुपैया पुरस्कार पाउने छन् । प्रतियोगितामा २१ लाख ९६ हजार रुपैया खर्च हुने अनुमान प्रतियोगिता संयोजक मनेष दाहालले जानकारी दिए ।

प्रतियोगितालाई भब्य बनाउन हरेक दिन सांस्कृतिक कार्यक्रम, विभिन्न जात जातीका झाँकी प्रदर्शन गरिने तयारी रहेको आयोजक समितिका दुर्योधन सिंह (देव) ले जानकारी दिए । इन्दिरा फाउण्डेसनको प्रायोजन रहने प्रतियोगिताको प्राविधिक सहयोग झापा जिल्ला फुटबल संघले गर्ने भएको छ ।