बिर्तामोड । बिर्तामोडको कृषि बजार व्यवस्थापन समितिको निर्वाचन अनिश्चितकालका लागि स्थागित भएको छ । निर्वाचन समितिले सुचना प्रकाशन गरी आज तय भएको कृषक प्रतिनिधि छनौटको निर्वाचन स्थागित भएको जनाएको छ  । 

krisi

झापाका ८ स्थानीय तहबाट ५ जनाका दरले छनौट भएका आएका ५ जना कृषक प्रतिनिधिका बिषयमा उजुरी परेको निर्वाचन समितिले जनाएको छ । बिर्तामोड, अर्जुनधारा र कन्काई नगरपालिकाबाट कृषक प्रतिनिधि भएर आएका ५ जनाबिरुद्ध उजुरी परेको हो । 

बिर्तामोडका निरजकुमार ओली, अर्जुनधाराका भीमप्रसाद लम्साल र रमेश काफ्ले, कन्काईका कृष्णमाया भुजेल र तपनकुमार मण्डलबिरुद्ध उजुरी परेको हो । कृषकले प्रतिनिधित्व गर्नुपर्नेमा गैरकृषकलाई प्रतिनिधि बनाएको भन्दै उनीहरुबिरुद्ध उजुरी परेपछि निर्वाचन स्थागित भएको हो । 

कृषिथोक बजार व्यवस्थापन समितिमा कन्काई, बिर्तामोड, भद्रपुर, मेचीनगर, अर्जुनधारा नगरपालिका र बाह्दशी, हल्दीबारी, र बुद्धशान्ति गाउँपालिकाका छनौट भएका प्रतिनिधिमध्येबाट मतदाता बन्ने व्यवस्था रहेको छ । प्रत्येक स्थानीय तहले ५ जना कृषक प्रतिनिधि सहभागी गराउनु पर्ने प्रावधान भएपनि गैरकृषकलाई सिफारिस दिएको भन्दै उजुरी परेको हो । 

कृषक प्रतिनिधि छनौटमा स्थानीय तहका प्रमुखलाई जिम्मा दिएको हुन्छ । जुन दलबाट गाउँ, नगर प्रमुख निर्वाचित भएको छ, सोही दलका किसान कार्यकर्ता सिफारिस हुने ब्यवस्था रहेको छ । तीनवटा स्थानीय तहको सिफारिसका आधारमा गैरकृषक सहभागी हुन लागेको भन्दै उजुरी परेको छ । 

यसअघि हिजो सम्पन्न व्यवसायीको निर्वाचनबाट तीनजना निर्वाचित भइसकेका छन् । ब्यवसायीबाट इन्द्रजित चौधरी, पार्वती खतिवडा र खगेन्द्र महतो निर्वाचित भएका छन् । ९ जना उम्मेदवारमध्ये उनीहरु निर्वाचित भएका हुन् । व्यवसायीबाट २७८ जना मतदाता रहेका थिए । 

ब्यवसायीबाट तीन र कृषकबाट तीनजना जिर्वाचित भएपछि ६ जनामध्येबाट अध्यक्ष चयन हुने प्रावधान रहेको छ । ब्यवस्थापन समितिको पदावधी ३ बर्षको हुने छ । निर्वाचनका लागि कृषि बिभागबाट दामाेदर पाेखरेल, अनुसा कार्की र उर्मिला शाही आएका छन् ।